एजेन्सी । कतार र संयुक्त अरब इमिरेट्समा बिहीबार भारी वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्। जसका कारण धेरैले होटलमा ओत लिन बाध्य भए ।
वर्षाले यूएईको पूर्वी भागहरूमा बाढी जस्तै अवस्था निम्त्याएको मिडिया रिपोर्टमा उल्लेख छ । वर्षाका कारण घरहरूलाई क्षति पुर्याएको र धेरै सवारी साधनहरू बगाएको मिडिया रिपोर्टमा उल्लेख छ।
खलीज टाइम्सको रिपोर्टका अनुसार मौसममा अचानक आएको परिवर्तनका कारण युएईको मौसम विभागले ‘खतरनाक मौसम घटना’का लागि रेड अलर्ट जारी गरेको छ ।
सामाजिक सञ्जालमा शेयर भइरहेका तस्बिर भिडियोमा दिनभरको वर्षापछि राजमार्गमा सवारी साधन पानीमा तैरिरहेको देखिएको छ । भिडियोमा उद्धारकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा फसेका मानिसहरूलाई उद्धार गरिरहेको देख्न सकिन्छ।
अल अरेबियाको रिपोर्ट अनुसार युएईको विपद् व्यवस्थापन प्राधिकरणले बाढीबाट विस्थापित भएका १,८८५ भन्दा बढी मानिसलाई बस्न सक्ने होटलको व्यवस्था गरिएको छ । युएईको मौसम विभागले देशमा वर्षाले २७ वर्षको कीर्तिमान तोडेको जनाएको छ ।
कतारको अवस्था पनि युएईको जस्तै छ । भारी वर्षापछि राजधानी दोहाका सडकहरु पानीमा डुबेका छन् । मिडल इस्ट आईको रिपोर्टका अनुसार बिहीबारको वर्षाका कारण विश्वकप स्थल नजिकका सडक र सवारीसाधन डुबानमा परेका छन् ।





