बेलायती प्रधानमन्त्री बन्ने दौडमा रहेका सुनक र ट्रसबीच बहस चलाउँदा-चलाउँदै प्रस्तोता बेहोस



बेलायती प्रधानमन्त्री बन्ने दौडमा रहेका सुनक र ट्रसबीच बहस चलाउँदा-चलाउँदै प्रस्तोता बेहोस

बेलायतमा कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि स्थगित भएको छ।

‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका दौरान प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ। दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ।‘हामी हाम्रो दर्शकसँग माफी माग्छौं,’ टेलिभिजनले भनेको छ।

मेक्यान अहिले ठिक रहे पनि चिकित्सकको सल्लाहअनुसार केही समय आराम गर्ने टेलिभिजनको भनाइ छ। मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उनीसँगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ।

कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि ‘द सन’का राजनीतिक मामिला सम्पादक कोरोना संक्रणका कारण उपस्थित हुन सकेनन्। कार्यक्रम स्थगित हुनुअघि उनीहरू कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारेका योजना सुनाइरहेका थिए।

युक्रेनलाई सहयोग गर्ने योजनाबारे बहस हुँदै गर्दा कार्यक्रम स्थगित भएको थियो। बिबिसीसँगको बहसमा एकअर्काप्रति खरो उत्रिएका उनीहरू ‘टक टिभी’ सँगको बहसमा निकै नरम थिए।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार