श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।

राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले आफ्ना श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । श्रीमती सिर्जना सिंहलाई उनले उम्मेदवार बनाएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी छन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

परिवारवादको प्रभावले टिकट पाउन नसक्दा पाँच वर्षसम्म प्रतिस्पर्धी दल एमालेका मेयर विद्यासुन्दर शाक्यसँग पौठेजोरी खेलेर सम्पदा संरक्षणमा खटेकी उपमेयर हरिप्रभा खड्गीले मेयरको टिकट पाउन सकिनन् । तर, अहिले उनी सिर्जनाको प्रचारक भएर हिँड्न बाध्य छिन् ।

काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएकी सिर्जनाको योग्यता महानगरको विकासमा राजनीतिक रूपमा उनले निर्वाह गरेको भूमिकाभन्दा प्रकाशमानको श्रीमती हुनु नै देखिन्छ । सत्तारूढ पाँच दलीय गठबन्धनको उनी साझा उम्मेदवार हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । गत निर्वाचनमा मेयरमा विजयी रेणु सत्तारूढ पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले समेत आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएका छन् । विराटनगर महानगरपालिकाको पार्टीअध्यक्ष समेत रहेका अमरेन्द्रले सुरुमा मेयरको दाबी गर्दै आएका थिए । तर, पाँच दलीय गठबन्धनमा मेयर कांग्रेसको भागमा परेपछि उपेन्द्रले छोरा अमरेन्द्रलाई उपमेयरमा टिकट मिलाइदिएका हुन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल राजनीतिक दलका शीर्ष नेताहरूले परिवारकै सदस्य वा नाता पर्नेलाई उम्मेदवार बनाउने काम गलत भएको बताउँछन् । राजनीतिमा योग्दान गरेका एउटै परिवारका सदस्य उम्मेदवार हुनु राम्रो भए पनि राजनीतिमा योग्दान नै नभई नातागोतामा परेकै कारण उम्मेदवार बनाउनु गलत भएको उनले बताए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार