मे १ देखि मलेसियामा बेसिक तलब मासिक १५ सय रिंगिट हुने



क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्रीले त्यहाँ कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गरेका हुन् । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका उद्योगी भने असन्तुष्ट बनेका छन् ।

पारिश्रमिक बढाउने सरकारको निर्णयको विरुद्ध मलेसियाको औद्योगिक क्षेत्रले विरोध प्रदर्शन गरेको छ । बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ ।

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताउएका छन् ।

साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ । मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार