झण्डै चार लाख नेपाली रहेको कतारमा कामदारको तलब १००० रियालले बढ्यो, अब कति पाउँछन् ?



दोहा । कतारले आप्रवासी कामदारको ज्यालामा एक हजार रियाल भन्दा बढीले बढोत्तरी गरेको छ । पहिले एक हजार भन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल पुगेको छ । खाना बस्नको राम्रो व्यवस्था भए कम्पनीले महिनावारी एक हजार तलब दिने नत्र १८ सय रियाल तलब दिनैपर्ने व्यवस्था लागू गरिएको छ ।

कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्टका अनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार १४६ जनाले १८ सय रियाल तलब पाउन थालेका छन् । कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइनमार्फत् जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार पारेका थियो । जसमार्फत् दुई लाख ४२ हजार ८७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेको दाबी गरिएको छ ।

मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ । कामदारको सहुलियतको लागि कम्पनीले कन्ट्र्याक्ट समाप्त भएको सूचनादेखि नयाँ भर्तीसम्मका सबै सूचना अनलाइनमार्फत् नै दिइएको थियो । अनलाइन फर्म भरेर कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।

आगामि वर्ष २०२२ को नोभेम्बर(डिसेम्बरमा हुने विश्वकपको लागि कतारले अप्रिल २०१८ देखि नै आईएलओको कार्यालय दोहामा राख्न दिएर सँगै काम गर्न थालेको छ । आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्य मध्येकै सुधारवादी राज्य बन्न सफल भएको त्यहाँको श्रम मन्त्रालयको दाबी छ ।

यस्तै घरेलु कामदारलाई अन्य कामदार झैं व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवस्था गर्ने लगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ ।

कतारी श्रम कानूनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरूका लागि सेल्टरको पनि व्यवस्था गरिएको बताइएको छ । कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झण्डै चार लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार