
काठमाडौं । बागमती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । खाली भएको ठाउँमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहेको छ । तर, स्वयं बादल भने उपचुनाव लड्न तयार नभएको नेताहरुले बताएका छन् ।
उपनिर्वाचनमा वाग्मती प्रदेशमा तपाईंहरुको उम्मेदवार को हो ? भन्ने प्रश्नमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेल भन्छन्, ‘जो जो साथीहरु पूर्वमाओवादीबाट एमालेमा आउनुभएको थियो, एमालेमा आएबापत, प्रधानमन्त्रीको कदमलाई साथ दिएबापत ज–जसले पद छोड्नु परेको छ त्यस ठाउँमा हुने उपनिर्वाचनमा हाम्रो उम्मेदवार उहाँहरु नै हो । तर, उहाँहरुले आफैं चाहनु भएन भने अर्कै कुरा (उम्मेदवार) हुन्छ ।’
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । तर, उम्मेदवारको टुङ्गो भने लाग्न सकेन । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीले उठाएको उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । ‘जनप्रतिनिधिहरु मतदाताहरुसंग कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय गरेका छौं । उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’ ज्ञवालीले भने ।
वालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए । ‘बादल कमरेडले जित निश्चित हुनुपर्छ भनेर राख्नुभयो । नजित्ने चुनाव नलड्ने उहाँको अडान छ । त्यसकारण आज उम्मेदवारको टुङ्गो लाग्न सकेन’ एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसंग भने ।
मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ । तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।
नेताहरुका अनुसार एमालेभित्रकै माधव नेपाल पक्षले विपक्षी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भनेका कारण बादल चुनाव लड्नबाट हच्किएका हुन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् ।
तर, माधव नेपाल पक्षका केही मतदाता विपक्षी गठबन्धनमा जान्छन् भनेर चुनावबाट डराउन नहुने बताउँछन् एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्याकुरेल । ‘माधव नेपाल पक्षका केही उता गए, उताको पनि यता आउन सक्छन्, ल्याउन सकिन्छ । चुनावबाट डराउने भन्ने कुरा त हुँदैन नि’ प्याकुरेलले अनलाइनखबरसंग भने । गत वैशाख १० गते बालुवाटारमै बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, विपक्षी गठबन्धनमा माधव नेपाल पक्ष सामेल भएपछि बादल हच्किएका हुन् । नेताहरुका अनुसार आफ्नो उम्मेदवारको जित निश्चित गराउन माधव नेपाल पक्षका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने विषयमा समेत शीर्ष तहमा छलफल चलेको छ ।
मतदताको तथ्याङ्क केलाउँदा बागमती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ । तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।
बागमती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाताले वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य चयन गर्छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । ११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।
एमालेका ५६ जना सांसद केपी शर्मा ओली र माधव नेपाल पक्षमा विभाजित छन् । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा एमाले माधव पक्षका २२ जना र माओवादी केन्द्रका २३ जनाले हस्ताक्षर गरेका थिए । यसलाई आधार मान्ने हो भने हाल प्रदेश सभामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् । यस्तै, स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् ।
मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुश्किल पर्ने देखिन्छ । एमाले सिंगैलाई छोड्दा कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ । विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ । यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ ।
यस हिसाबले काँग्रेस, माओवादी, जसपा, साना दलसमेतको मतभार सिंगो एमालेको भन्दा कम छ । तर, एमालेको माधव पक्ष विपक्षी गठबन्धनमा उभिदा एमालेको समग्र मत भार घट्न जाने र विपक्षी गठबन्धनको बढ्न जाने देखिन्छ ।