
काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन्।
यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन्। यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो। त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। पुस ५ गतेपछि तत्कालीन नेकपामा आएको विग्रह र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराएपछि ओलीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेका छन्।
यसअघि उनले प्रदेश २ मा माओवादीका तर्फबाट नियुक्ति पाएका तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीको अबको मिसन उपराष्ट्रपति र सभामुख हटाउने रहेको बुझिएको छ । ओलीले सभामुख अग्नि सापकोटालाई हटाउने रणनीति बुनिरहेको पाइन्छ । संवैधानिक परिषद्का साथै सपथ ग्रहण समारोहमा समेत उनीहरुलाई आमन्त्रण गर्न छोडिएको छ । सोमबार पनि प्रदेश प्रमुखको नियुक्त हुँदा सभामुख र उपराष्ट्रपतिको उपस्थिति थिएन । राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष मात्र उपस्थित थिए ।
सापकोटालाई नै हटाउन ओलीले निकटस्थहरूसँग सल्लाह गरिरहेको बुझिएको छ । पहिले सापकोटालाई राजीनामा दिन लगाउने न माने महाभियोग प्रस्ताव दायर गर्ने उनको रणनीति छ । संसद्का जेठा सांसदको हैसियतमा महन्थ ठाकुरलाई बाँकी दिनहरूको अधिवेशन अध्यक्षता गराउने ओलीको तयार छ । ओली सभामुखसहित उपराष्ट्रपति नन्दकिशोर पुनसमेतलाई बिदा गर्ने मुडमा देखिएका छन् । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीले यसको संकेत दिएका थिए । नयाँ सरकार गठन वा अविश्वास प्रस्ताव लैजाने विषयमा कांग्रेसले पनि माओवादीलाई पत्याएको छैन भने ओलीले पनि माओवादीको नाडी छामिरहेको ती नेताले बताए ।
‘माओवादीलाई अहिले कसैले पनि पत्याएका छैनन्, ओलीलाई घुर्की लगाउने र हाम्रो पार्टीको समर्थन छैन भन्ने तर नयाँ सरकारका लागि कसैको पनि समर्थन जुटाउन नसक्ने अवस्थामा माओवादीको कमजोरीमा खेलेर ओलीले धक्का दिएका हुन्’, ओली निकट स्रोतले भन्यो। माओवादीका सचेतक देव गुरुङले भने प्रदेश प्रमुखलाई हटाएर ओली सरकारले राजनीतिक द्वन्द्वलाई निम्तो दिएको बताए ।