
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू माथि झूटा आरोप माथि आरोप लगाएको गुनासो पोखेका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा माथि प्रकाश पार्दै देउवाले पौडेलले महाधिवेशनमा पराजित भए देखि आफू माथि क्षुद्र किसिमका आरोपहरु लगाउने गरेको बताएका हुन् । क्रियाशील सदस्यताको टुंगो लगाउन नचाहेको, प्रधानमन्त्री ओलीसँग सेटिंग गरेको भन्ने पौडेलले गम्भीर आरोप लगाएको बारे पत्रकारहरुले राय मागे पछि देउवाको यस्तो बताएका हुन् ।
देउवाले भने, ‘मैले धेरै पटक भने उहाँलाइ तर यस्ता आरोपहरु लगाइ नै रहनु हुन्छ। आज देखि होइन महाधिवेशनबाट सभापति भए देखि नै हो उहाँले बोल्न थालेको। त्यसकारणले रामचन्द्रलाई जे बोल्न पनि छुट छ, बोलून।’ देउवाले पार्टी महामन्त्री शशांक कोइराला आफै चिकित्सक भएको र उनको नै सुझावमा केन्द्रिय समिति बैठक स्थगित गरिएको प्रस्टाए। देउवाले वैकल्पिक सरकार निर्माणका लागि जनता समाजवादी पार्टीले निर्णय कुरिरहेको बताए। उनले आफूहरुसँग बहुमत नभएकोले अविश्वास प्रस्ताव अघि बढाउन नसकिएको बताए।
देउवाले भने, ‘सरकार बनाउन त बहुमत चाहियो नि। जसपाले निर्णय गरेको छैन। हामीसँग बहुमत छैन के गर्ने?’ देउवाले कोरोना महामारी बीच पनि पार्टीको अधिवेशन गर्नुपर्ने चुनौती रहेको बताए। उनले महाधिवेशनको विकल्प अर्को नभएको पनि प्रस्टाए। बिहिबार मात्रै वरिष्ठ नेता पौडेलले विशेष अधिवेशन गर्नु पर्ने राय प्रकट गरेका थिए। ‘विकल्प केही छैन संविधान अनुसार हुन्छ,’ देउवाले भने । देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताए । बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।
देउवाले भने, ‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो। यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।’ एमसिसी पास गरेपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको बताए। अमेरिकी सेनालाई नेपाल आउन कुनै पनि हालतमा नदिने उनले बताए । ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्रश्न गरे।
पत्रकारहरुले एमसीसी जसरी पनि पास नगरे आफूलाई गाह्रो पर्ने भनेर प्रचण्डलाई देउवाले भनेको भन्ने हल्ला रहेको बताएपछि देउवा केही बेर आक्रोशित भएका थिए। उनले प्रश्न सोध्ने पत्रकारसँग जंगिदै, ‘मैले कहिले भने? कहाँ भने? मैले भनेको कसले भन्यो?’ भनेर प्रतिप्रश्न गरेका थिए। देउवा झोक्किए पछि पत्रकारको बोली नै बन्द भएको थियो।