पाँच मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाउँदै माओवादी



प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका पाँच मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र पठाउने तयारी नेकपा (माओवादी केन्द्र)ले गरेको छ । पार्टी त्याग गरेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीलाई सांसद पदबाट पदमुक्त गर्न माओवादीले पत्र पठाउन लागेको हो ।

‘ स्थायी कमिटी बैठकको निर्णयानुसार संसद् सचिवालयमा पत्र दर्ता गराउने तयारी छ,’ माओवादीका एक नेताले भने । गृहमन्त्री थापासँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीलाई सांसद पदबाट हटाउन सचिवालयलाई पत्र पठाउन लागिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहितको पत्र सचिवालयमा दर्ता गर्न लागिएको माओवादी स्रोतले बतायो । सचिवालयमा पत्र दर्ता गराउने जिम्मा प्रमुख सचेतक देव गुरुङलाई दिइएको छ । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नपठाएपछि माओवादीले उनीहरूलाई कारवाही गर्न लागेको हो । पाँच मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन भने अन्य चारजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका सांसद हुन । माओवादी पार्टी त्यागेर सरकारमा सहभागी भएका खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ भने सांसद छैनन ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार