काठमाण्डाै | नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गरेको छ । पार्टीमा गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले ‘झाँक्री लहलहैमा लागेर हिँडेको र उहाँलाई स्पष्टीकरण सोध्न वेट पुग्दैन’ भनेपछि निर्णय फिर्ता भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने स्पष्टीकरण सोध्ने निर्णय पारित गरेको छ ।
सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । शनिवार कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै पौडेलले कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्री ओलीको विकल्पमा जानुपर्ने बताउनुभएको हो ।
राजनीतिक अन्याेल भएको भन्दै उहाँले अन्याेललाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘ओलीको विकल्प खाेज्न कांग्रेसले संयोजकको भूमिका निर्वाह गर्नुपर्छ । कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो ।’नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उहाँले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताउनुभयो । संसदमा भएका शक्तिहरूलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उहाँको जोड छ।
उहाँले भन्नुभयो – ‘अदालतको फैसलाले पाँच वर्ष नभइ चुनाव गर्ने अनुमति दिँदैन । संसद फेरि विघटन गर्ने पनि ठाउँ छैन । अहिले चुनावको कुरा गर्ने होइन । यही संसदलाई कसरी उपयोग गर्ने ? यही संसदमा भएका शक्तिहरुलाई समायोजन गर्नु अहिलेकाे विकल्प हो ।’ संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उहाँको भनाइ छ ।