कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ : प्रवक्ता शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी खबर आइरहेका बेला आइतबार अपरान्ह प्रवक्ता शर्माले कोही कसैलाई भ्रममा नपर्न भनेका हुन् । नेकपाभित्र आन्तरिक विवाद भइरहेका बेला अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटेको र आगामी दिनमा सहकार्यको प्रस्तावसमेत राखेको दाबी सहितका चर्चा भइरहेको छ ।

तर यसतर्फ लक्षित गर्दै प्रवक्ता शर्माले नेकपाभित्रको द्वन्द्वसँग कांग्रेस निरपेक्ष रहेको उल्लेख गरेका छन्। ‘भ्रम, कोही कसैलाई केही छ भने- पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई,’ प्रवक्ता शर्माले भनेका छन्, ‘अत: कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौंl’ उनले घुमाउरो भाषामा सत्ताको जोडघटाउमा पार्टी नलागेको पनि उल्लेख गरेका छन्। ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौंl अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन्।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार