नयाँ नेयमार बन्न चाहन्न – रोड्रिगो



एजेन्सी । ब्राजिलका युवा स्टार रोड्रिगोले आफु नयाँ नेयमार बन्न नचाहेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारसँग तुलना गरिएपनि आफु ‘नयाँ नेयमार’ बन्न नचाहेको रोड्रिगोले प्रष्ट पारेका हुन् । रोड्रिगो युरोपेली क्लब फुटबलका उदयमान युवा खेलाडीको रुपमा परिचित छन् । उनी ला लिगा च्याम्पियन रियल मड्रिडबाट आफ्नो करियर अघि बढाईरहेका छन् ।

१९ वर्षिया विङ्गर रोड्रिगो ४५ मिलियन युरोमा ब्राजिलियन क्लब सान्तोषबाट रियल मड्रिड आएका थिए । उनलाई ब्राजिली स्टार नेयमार र रोबिन्होसँग तुलना गर्ने गरिन्छ । दुवै खेलाडी ब्राजिली क्लबबाट उदाएका थिए । उनलाई १२ वर्षको उमेरमै नेयमारसंग तुलना गरिएको थियो । जब खेल सामाग्री कम्पनी नाइकले रोड्रिग्वोसंग प्रायोजन सम्झौता गरेको थियो । रोड्रिगो भने नेयमार र रोबिन्होसंग तुलना गर्दा असहज महशुश गर्छन् । उनी आफ्नो बाटो बनाउन चाहेको बताउँछन् ।

विश्वकप छनोटको पेरुविरुद्धको खेल अघि रोड्रिग्वोले भने, ‘मेरो करियरको सुरुवात जब मैले सान्तोषबाट गरेका थिए, उनीहरु मलाई नयाँ नेयमार र रोबिन्होसंग तुलना गर्दथे । मेरो माथि सधै त्यो भार रह्यो ।’ ‘म सधै भन्दै आएको छु । म रोड्रिग्वो हुन चाहन्छु । मेरो आफ्नो कथा लेख्न चाहन्छु । नेयमार र रोबिन्हो सान्तोषका महान खेलाडी हुन् । जहाँ उनीहरु खेलेका छन् । मैले भर्खरै सुरुवात गरेको छ । मलाई लाग्छ, नेयमार एक जनामात्र छन् ।’ रोड्रिग्वो भन्छन् ।

‘मेरो माथि सधै त्यसको भार रहेको छ । तर म मात्र रोड्रिग्वो बन्न चाहन्छु ।’ उनले भने । रोड्रिग्वोले ब्राजिलको सिनियर टिमबाट मात्र तीन खेलमा प्रतिनिधित्व गरेका छन् । उनले शुक्रबार मात्र बेन्चबाट मैदान छिरेका थिए । सो खेलमा ब्राजिलले बोलिभियालाई ५–० ले हराएको थियो । उनले सन् २०२०–२१ मा ला लिगामा मात्र दुई खेलमा प्रतिनिधित्व गरेका छन् । उनले गत सिजन सबै प्रतियोगितामा २६ खेल खेल्दा ला लिगामा १९ खेलमा मौका पाएका थिए । ‘मलाई लाग्छ, एउटा राम्रो स्तर हुन धेरै महत्वपूर्ण छ । हामी सबैलाई थाहा छ, मेरो पेजिसनमा धेरै उत्कृष्ट खेलाडी रहेका छन् ।’ रोड्रिग्वोले भने ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार