काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
शर्मामाथि एक नाबालिकालाई घरमा राखेर बालश्रम गराएको, श्रमशोषण तथा कुटपिट गरेको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती बालिकाले आफू ६ वर्षदेखि शर्माको घरमा काम गर्न बाध्य भएको, परिवारसँग भेट्न नपाएको तथा पटक–पटक शारीरिक यातना भोग्नुपरेको बयान दिएकी छन्।
घटना काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका विद्यार्थीहरूले गरेको सर्वेक्षणका क्रममा सार्वजनिक भएको हो। विद्यालयमा अध्ययनरत ती बालिकाले आफू काममा लगाइएको र दुर्व्यवहार भएको खुलाएपछि महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो।
महानगरपालिका, वडा प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको छ। उद्धारका क्रममा घटनास्थलमा मुचुल्का समेत तयार गरिएको थियो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने रायसहित फाइल अघि बढाए पनि, उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेपछि प्रकरण पुनः सक्रिय बनेको हो।
यसबीच बालिकाका बाबुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





