काठमाडौं । नेपाली बाहेकका मातृभाषामा शपथ लिन यसपटक ४७ जना सांसदले नाम दर्ता गराएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते हुने तय भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छिन् । त्यस्तै, सांसदहरू उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिने तयारी गरेका छन् ।
यसैगरी, कृपाराम रानाले राना थारू भाषामा शपथ लिनेछन् भने गीता चौधरी र प्रमिलाकुमारी गच्छदार ले थारू भाषामा शपथ लिने भएका छन् ।
सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिनेछन् ।
अघिल्ला चुनावहरूमा पनि मातृभाषामा शपथ लिने सांसदको संख्या फरक–फरक रहँदै आएको छ, २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा भने २६४ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए । यसपटक पनि बहुभाषिक अभ्यासलाई निरन्तरता दिँदै ४७ सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।





