राजस्व सङ्कलनमा बागमती प्रदेश कमजोर: ८ महिनामा लक्ष्यको केवल ३६ प्रतिशत हासिल



काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा अपेक्षाभन्दा न्यून राजस्व सङ्कलन गरेको छ। कुल लक्ष्यको केवल ३६.२९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड रुपैयाँ मात्र उठ्न सकेको हो।

प्रदेश सरकारले साउनदेखि फागुनसम्म ३० अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर, लक्ष्यको तुलनामा करिब ४५.१३ प्रतिशत मात्र प्रगति भएको देखिएको छ।

राजस्व सङ्कलनमा मुख्य योगदान दिने घरजग्गा रजिष्ट्रेसन र सवारी कर दुवै क्षेत्रमा गिरावट देखिएको छ। घरजग्गा रजिष्ट्रेसनबाट ७ अर्ब ७० करोड उठाउने लक्ष्य रहे पनि हालसम्म २ अर्ब ५६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। यस्तै, सवारी करतर्फ ८ अर्ब २५ करोडको लक्ष्यमा ४ अर्ब ४४ करोड रुपैयाँ उठेको छ।

मूल्य अभिवृद्धि कर (VAT) बाँडफाँडबाट अपेक्षित ८ अर्ब ७९ करोडमध्ये ५ अर्ब ४ करोड प्राप्त भएको छ भने अन्तःशुल्क करतर्फ ४ अर्ब ३ करोडको लक्ष्यमा १ अर्ब ७५ करोड मात्र सङ्कलन भएको छ।

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान पनि अपेक्षाअनुसार हुन सकेको छैन। १४ अर्ब ८१ करोड अनुमान गरिएकोमा ७ अर्ब ९४ करोड रुपैयाँ मात्र प्राप्त भएको छ।

आन्तरिक स्रोततर्फ समेत प्रगति सन्तोषजनक छैन। ४ अर्ब ७७ करोड लक्ष्य राखिएकोमा २ अर्ब ५० करोड रुपैयाँ मात्र उठेको छ।

राजस्व घट्नुका प्रमुख कारणका रूपमा आर्थिक तरलता संकट, घरजग्गा तथा सवारी कारोबारमा आएको मन्दी, साथै भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायमा पुगेको क्षतिलाई लिइएको छ।

समग्रमा, प्रदेश सरकारको राजस्व संकलन अपेक्षाभन्दा कमजोर देखिँदा आगामी महिनामा लक्ष्य भेट्न थप चुनौती बढेको संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार