नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सिट आउने बताएका छन् । आज (शनिबार) बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरुको हालत नै अबको चुनावमा चिन्ताजनक रहने भन्दै तत्काल कार्यशैली सुधार गर्न जोड दिएका छन् ।
उनले भने,‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट) हरू पहिला ३र४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ।’
कमजोरीप्रति निर्मम नबनेसम्म सही बाटो पहिल्याउन नसक्ने भन्दै पार्टीले अब गम्भीर समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हामीले कमजोरप्रति निर्मम बन्ने बेला छ, अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै। सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ।’





