काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ तथा शुभकामना व्यक्त गरेको छ।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल ले विज्ञप्ति जारी गर्दै सीपीसीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी दिएका छन्।
सीपीसीले सन्देशमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई दलबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको जनाएको छ।
विज्ञप्तिअनुसार, चीन–नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
साथै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वको प्रशंसा गर्दै उनीहरूको भूमिकाले नेपाल–चीन पारम्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरिएको छ।
सीपीसीले अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्पर रहेको पनि जनाएको छ।
रास्वपाले भने नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने स्पष्ट पारेको छ। साथै, सीपीसीको शुभेच्छा र ऐक्यबद्धताप्रति धन्यवाद ज्ञापन गरेको छ।





