ग्यासमा कालोबजारी बढ्यो: सूचना भए ११३७ मा फोन गर्न विभागको आग्रह



अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाउँदै खाना पकाउने एलपी ग्यासको अवैध कारोबार, लुकाएर राख्ने र बढी मूल्यमा बिक्री गर्ने गतिविधि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सर्वसाधारणलाई सचेत गराएको छ। विभागले ग्यासको कालोबजारी, कृत्रिम अभाव वा अन्य कुनै पनि अवैध गतिविधि देखिए वा जानकारी भए ११३७ नम्बरमा निःशुल्क फोन गरेर सूचना दिन सबैमा आग्रह गरेको हो।

पछिल्ला दिनहरूमा बजारमा ग्यासको अभाव बढेको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि विभागले निगरानी र अनुगमनलाई थप कडाइ गरेको जनाएको छ। नेपाल आयल निगमले आपूर्ति व्यवस्थापन सहज बनाउन आधा सिलिण्डर मात्रै बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा भने ग्यासको अभाव कायमै रहेको बताइएको छ।

विभागका अनुसार केही व्यापारीहरूले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्ताबाट बढी मूल्य असुल्ने तथा अवैध रूपमा भण्डारण गर्ने गतिविधि बढाएको पाइएको छ। यस्तो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत हुने भएकाले दोषी पाइए कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

यसैबीच, विभागले सोमबार मात्रै ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगको गोदाममा १४ दशमलव २ किलोग्राम तौलका ६ हजार ३७७ सिलिण्डर लुकाएर राखेको अवस्थामा फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ।

विभागले देशभर स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाउँदै आएको छ। अनुगमनका क्रममा कुनै पनि कैफियत फेला परे तत्काल कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ। साथै ग्यास उत्पादक उद्योग, वितरक र व्यवसायीहरूलाई कानुनअनुसार मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न र कुनै पनि गैरकानुनी गतिविधि नगर्न सचेत गराइएको छ।

ग्यासको माग उच्च रहेको यस अवस्थामा आपूर्ति प्रणालीलाई सहज बनाउन, कृत्रिम अभाव रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन विभाग सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। विभागले सर्वसाधारणलाई पनि बजारमा हुने अनियमितता तथा कालोबजारीबारे जानकारी भए ११३७ नम्बरमा सम्पर्क गरेर सूचना दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार