हामीले भनेका कुरा पूरा गरेर आएका छौँ, विश्वासलाई अब भोटमा बदल्नुस् : गगन थापा



सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसप्रति जनताले देखाएको विश्वासलाई अब मतमा परिणत गर्न आग्रह गरेका छन् । मंगलबार सुनसरी–२ को झुम्कामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ । अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिनुहोस् । बाँकी काम पूरा गर्ने जिम्मा मेरो हुन्छ ।”

उनले कांग्रेसले विगतमा गरेका प्रतिबद्धता पूरा गरेको दाबी गर्दै त्यसबारे जनतालाई स्पष्ट जानकारी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । “कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने कुरा जनतालाई सम्झाइदिनुहोस्,” उनले भने, “म तपाईंहरूको विश्वासमा उभिएको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ । कांग्रेस बदलिएर आएको छ ।”

थापाले निर्वाचन आचारसंहिताका कारण विस्तृत रूपमा धारणा राख्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै अबको कांग्रेस सुशासन र भ्रष्टाचार अन्त्यको स्पष्ट आधारसहित अघि बढ्ने दाबी गरे । उनले परिवर्तनको नारामात्र नभई व्यवहारमा देखिने काममार्फत विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार