कांग्रेस विवाद समाधान प्रयास: गगन-विश्व टोली र संस्थापन पक्षबीच वार्ता हुँदै



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच आज वार्ता हुने भएको छ।

विशेष महाधिवेशन अघि बढाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले वार्ताका लागि पहल गरेको हो। आजको वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्।

संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने बताइएको छ।

विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई वार्तामा बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थहरूमार्फत् दिइरहेका छन्।

विशेष पक्षका अनुसार कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरेका छन्। संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने चेतावनी उनीहरूले दिएका छन्।

आज हुने भनिएको वार्ताको समय र स्थान भने सार्वजनिक गरिएको छैन। यस वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने विषयमा टुंगो लाग्ने नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार