काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन पक्षधर नेताहरू देवराज चालिसे, सुवास पोखरेललगायतले विशेष महाधिवेशनको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा नेताहरूले पार्टी विधानको मर्मअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरे।
यसैबीच, विशेष महाधिवेशनको घोषणा भइरहेकै समयमा कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंको नक्सालस्थित एक होटलमा छुट्टै छलफल गरेका छन्। उक्त छलफलमा केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसेलगायत नेता तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता रहेको बताइएको छ।
नक्सालस्थित होटलमा जारी छलफलमा पार्टीको वर्तमान अवस्था, विशेष महाधिवेशनको आवश्यकता र भावी रणनीतिबारे विचार–विमर्श भइरहेको जनाइएको छ।





