२५ गते ७ ट्रेड युनियनले माइतीघरमा विरोध प्रदर्शन गर्ने !



ललितपुर | ७ वटा ट्रेड युनियनले भदौ २५ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन । प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीकाअनुसार मजदुरको समस्या प्रति सरकार उदासीन भएको कारण ट्रेड युनियनहरु सडक संघर्षमा आउन लागेका हुन । लकडाउनकाे नाममा मजदुरले राेजगारी गुमाउनुपरेको अवस्था , तलब सुविधा कटाैती लगायतको विरोधमा ७ ट्रेड युनियनहरुले संयुक्त विरोध कार्यक्रम गर्ने तयारी गरेका छन । विभिन्न पार्टी निकट मजदुर संगठनले यसअघि पनि पटकपटक संयुक्त संघर्षका कार्यक्रम गरेका थिए । सरकार उदासीन भएको भन्दै ट्रेड युनियनहरु अझै सशक्त आन्दोलनकाे तयारीमा रहेको समेत बुझिएको छ ।

६ ट्रेड युनियन महासंघको संयुक्त बैठक समाजवादी ट्रेड युनियन महासंघको कार्यलय बालकुमारी, ललितपुरमा सम्पन्न भएको छ । बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ जो निम्न रहेका छन ।
१. ऋषि कटेलले नेतृत्व गर्नु भएको नेकपा निकट अखिल नेपाल ट्रेड युनियनलाई ६ ट्रेड युनियन महासंघ मा सहभागी/आबद्ध गराउने निर्णय गरेको छ । यो निर्णय संगै अब हामि ७ ट्रेड युनियन महासंघको संयुक्त मोर्चा बनेको छ ।

२. कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती र राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपुर्ब संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा देशव्यापी संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । सोहि योजना अनुरुप यहि भाद्र २५ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन सम्पन्न गर्ने निर्णय गरेको छ ।

३. ७ ट्रेड युनियन महासंघले आयोजना गर्ने संयुक्त संघर्षमा गतिशील र सक्रिय भुमिका पुरा गर्न सम्पुर्ण उत्पीडित मजदुर वर्गलाई विशेष अपिल र आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार