काठमाडौँ। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज (बुधबार) औपचारिक रूपमा घोषणा हुँदैछ। पार्टीले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजेबाट ४ बजेसम्म घोषणा सभा गर्ने जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहनेछन्। सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र २०८२ सार्वजनिक गरिने भएको छ। साथै सैद्धान्तिक आधार, प्राथमिकता र कार्य योजनाबारे विस्तृत जानकारी दिने तयारी गरिएको छ।
यसअघि मंसिर १२ मा जारी विज्ञप्तिमा पार्टीले आफू अन्य दलको भीडमा थपिएको मात्र नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको शक्ति भएको दाबी गरेको थियो। आम नेपालीले भरोसा गर्ने नेतृत्व बन्ने दाबी गर्दै पार्टीले जेन्जी आन्दोलनका उपलब्धि संस्थागत गर्न तथा समृद्धि लक्ष्यित परिणाममुखी संवादमार्फत एकजुट हुन आह्वान गरेको छ।





