विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव, अंकगणित सरकारविरुद्ध



जनकपुरधाम। सर्वोच्च अदालतको परमादेशपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिँदैछन्। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बिहान साढे ८ बजे प्रदेश सभा बैठक बोलाइएको हो।

गत कात्तिक २४ गते संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शपथ ग्रहणको शैली र प्रक्रियामाथि विवाद भएपछि विपक्षी दलले सर्वोच्चमा रिट दिएका थिए। त्यही रिटमा सर्वोच्चले मंसिर १५ गते विश्वासको मत लिने आदेश जारी गरेको हो।

पहिलेका घटनाक्रम
असोज २९ मा सात दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपाका जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि कात्तिक २२ मा राजीनामा दिएका थिए। त्यसपछि एमाले नेतृत्वमा नयाँ सरकार बनेको थियो।

अंकगणित मुख्यमन्त्रीविरुद्ध
१०७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ मत चाहिन्छ। तर: एमालेसँग सभामुखसहित २५ सांसद (एक निलम्बित), नेपाल संघीय समाजवादी – १, राप्रपा – १ (मन्त्री बनेकी कञ्चन बिच्छाको पद विवादास्पद) यसरी कूल संख्या निकै कम छ।

उता, सातदलीय गठबन्धनसँग ७३ सांसद छन्: कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति १। यो समीकरण फेरिएन भने मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार