एमाले उपाध्यक्ष बादलको टिप्पणी : ‘नेपाली कम्युनिष्ट पार्टी दश कोठे टहरा’



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले हाल गठबन्धनमा बसेका विभिन्न कम्युनिस्ट समूहहरूको एकतालाई ‘दश कोठे टहरा’को उपमा दिँदै आलोचना गरेका छन्। शनिबार चितवनको भरतपुरमा आयोजित जनसभामा बोल्दै उनले छुट्टाछुट्टै अवस्थामा आफ्नो अस्तित्व जोगाउन नसकेका कारण उन‍ईहरू एकै ठाउँमा जम्मिन बाध्य भएको दाबी गरे।

उनका अनुसार, विगतमा पृथक पहिचानसहित छुट्टाछुट्टै राजनीतिक कोठामा बसेका दलहरूलाई आगामी निर्वाचनमा अस्तित्व संकट देखिएको थियो। यही डरले उनीहरू एकै छानामुनि आएको उनले टिप्पणी गरे। “अलग–अलग कोठाले उनीहरूको अस्तित्व धान्न सकेन, त्यसैले मिलेर दश कोठे टहरा बनाए,” बादलले भने।

उपाध्यक्ष बादलले गठबन्धनको मूल शक्तिका रूपमा माओवादी केन्द्र र एकीकृत समाजवादी रहेको उल्लेख गर्दै बाँकी दलहरू केही व्यक्तिमा सीमित रहेको टिप्पणी गरे। उनले एमाले छाडेर विभिन्न समूहमा बसेका नेताहरू ‘टहरामा बसेर’ टिक्न नसक्ने दाबी पनि गरे।

“मूल घरमै फर्किए मात्र उनीहरूको अस्तित्व सुरक्षित हुन्छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि हुने चुनावमा पनि त्यस्तै अवस्थामा मात्रै उनीहरू विजयी हुन सक्छन्, सांसद–मन्त्री बन्न सक्छन्,” बादलले भने।

उनका अनुसार, वर्तमान ‘टहरो व्यवस्था’ आगामी निर्वाचनमा सीमित सिट जोगाउने राजनीतिक प्रयोजनका लागि बनाइएको हो, तर दीर्घकालसम्म टिक्न नसक्ने दाबी उनले दोहोर्‍याए।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार