काठमाडौँ । नेकपा एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अमरबहादुर थापा लगायत नेताहरूको अलग समूह बनेको छ। यो समूह अध्यक्ष माधवकुमार नेपालसँगै पार्टी एकता प्रक्रियामा नजाने र झलनाथ–घनश्याम समूहमा पनि नलाग्ने अडानमा रहेको छ।
यसअघि उनीहरू अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्ट रहेका कारण झलनाथ खनाल र घनश्याम भुसाल समूहले गरेको भेलामा सहभागी भएका थिए। तर अब उक्त समूहमा पनि नबस्ने निर्णय भएको नेता कृष्णकुमार श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राईलगायत झण्डै १०० जना यस नयाँ समूहमै बस्ने तयारीमा छन्। माधव नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा आफूहरूले असहमति जनाउँदै केही दिन कुनै समूहमा नलाग्ने बताएका छन्।
भविष्यबारे नेता श्रेष्ठले एमालेमा जाने कि नयाँ ढङ्गले अघि बढ्ने भन्ने विषयमा केही दिनपछि निर्णय गर्ने बताएका छन्। उनका अनुसार आफूहरूलाई ठूलो पद नभई मिठो व्यवहार मिले एमालेमै फर्कन सक्छौँ।





