काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना नयाँ मन्त्री नियुक्त गरेको छ। पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
सरकारका अनुसार खनाललाई अर्थमन्त्रालय, घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय, र अर्याललाई गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व दिइएको छ। प्रधानमन्त्री कार्कीले उनीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नुभएको छ।
तीनैजना मन्त्रीहरूले आजै शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हाल्ने जनाइएको छ।
खनाल हालसालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सरकारलाई प्रतिवेदन बुझाइसकेका छन्। कानुन व्यवसायी अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार समेत हुन्। उता, घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकको रूपमा उर्जा क्षेत्रमा सुधारका लागि चर्चित नाम मानिन्छ।
मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा गति लिने अपेक्षा गरिएको छ।





