काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य भएको बताएका छन् । उनका अनुसार मत पाउनु र नागरिकको विश्वास पाउनु फरक कुरा भएकाले कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ । ‘नागरिकको विश्वास किन टुट्यो, विशेष गरी नयाँ पुस्ताले हामीलाई किन साथ दिएनन् भन्ने प्रश्नको जवाफ खोज्नु मात्र होइन, केही ठोस काम पनि गर्नुपर्छ,’ थापाले भिडियो सन्देशमार्फत भनेका छन् ।
कांग्रेसको अनुहारमा लागेको दाग ऐना पुछेर मेट्न नसकिने भन्दै उनले पार्टीले सिंगो देशसँग माफी माग्नुपर्ने धारणा राखे । २३ र २४ भदौमा भएका अमानवीय घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै थापाले सभापति देखि कार्यकर्तासम्म आक्रमणमा परेकाबारे जानकारी गराए । ‘स्वाभाविक आक्रोश स्वीकार गर्नुपर्छ, तर नियतवश भएको हिंसा कानूनी दायरामा ल्याउनुपर्छ,’ उनले भने ।
थापाले कांग्रेसले पुनः निर्माणको अग्रसरता लिनुपर्ने बताउँदै राष्ट्रपति, विभिन्न दल र आन्दोलनरत पक्षसँग संवाद जारी रहेको जानकारी दिए । जेनजीहरुले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन कांग्रेसले पहल गरिरहेको पनि उनले सुनाए ।
‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधान एक पटक ट्रयाकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने । उनले आज साँझसम्म नयाँ सरकार बन्ने विश्वास पनि व्यक्त गरे ।





