गठबन्धन सरकारको औचित्य सकियो, हत्याको जिम्मेवारी ओलीले लिनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यलाई निरन्तरता दिँदै गठबन्धन सरकारलाई टिकाइराख्नु अब आवश्यक नरहेको बताएका छन् ।

सोमबार जेन-जीहरूले गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सरकारले व्यापक दमन गरेको घटनाप्रति प्रतिक्रिया जनाउँदै उनले कांग्रेसले गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

थापाले भने, “जनतालाई सुशासनको प्रत्याभूति दिने उद्देश्यले बनेको सरकारले त्यो नै गर्न नसकेकाले अब यो गठबन्धन सरकार रहिराख्नुको आवश्यकता छैन।”

नयाँबानेश्वरमा भएको प्रहरी दमनमा कम्तीमा १९ जनाको ज्यान गइसकेको र थुप्रै घाइते भएको स्मरण गर्दै उनले त्यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्नेमा जोड दिए ।

गृहमन्त्रीले राजीनामा दिइसकेको परिस्थितिमा अब प्रधानमन्त्रीले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने थापाको भनाइ छ । उनले युवाले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दा निरन्तर रूपमा जनताका सरोकार बनेकाले तत्कालै उच्चस्तरीय आयोग गठन गरी सम्पत्ति छानबिन र भ्रष्टाचार प्रकरणहरूको द्रुत अनुसन्धान अघि बढाउनुपर्ने माग राखे ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै उनले तत्काल प्रतिबन्ध खारेज गर्न सरकारलाई आग्रह गरे ।

युवाहरूले गरेको आन्दोलन शान्तिपूर्ण भए पनि केही अवाञ्छित गतिविधि भएको स्वीकार गर्दै उनले संवादमार्फत संयमपूर्वक आन्दोलन अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार