काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएपछि प्रतिपक्षी दलहरूलाई एकताबद्ध गर्दै सडक र सदन केन्द्रित आन्दोलन सुरु गर्ने बताएका छन्।
शनिबार पेरिसडाँडामा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारले सुशासनको नाममा भ्रष्टाचारलाई संरक्षण दिएको र कानुन निर्माण प्रक्रियामा समेत छेडखानी गरेको आरोप लगाए।
उनले दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई प्रभावित पार्ने प्रयास भइरहेको भन्दै सडक, सदन र सरकार सबै मोर्चाबाट हस्तक्षेप गर्नुबाहेक विकल्प नरहेको बताए।
प्रचण्डले पार्टीभित्रै दलितमाथि दमन गर्ने दुई प्रवृत्ति र विचार विद्यमान रहेको पनि औंल्याए।
प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार





