बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न बुधबार मतदान हुने



मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार साउन १४ गते, बुधबार मतदान हुने तालिका तय गरिएको छ।

निर्वाचन कार्यक्रम अनुसार बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ। नामावलीमा दाबी विरोध गर्ने समय बिहान ८:३० देखि ९ बजेसम्म निर्धारण गरिएको छ।

उम्मेदवारी दर्ता साउन १४ गते बिहान १० बजेदेखि ११ बजेसम्म गर्न सकिनेछ। त्यसपछि ११:३० बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशित हुनेछ। उम्मेदवारी फिर्ता दिने अन्तिम समय दिउँसो १२ बजेसम्म तोकिएको छ भने अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने जनाइएको छ।

मतदान भने दिउँसो २ बजेबाट ३ बजेसम्म कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ। मतदान गर्नका लागि प्रदेशसभा सचिवालयबाट जारी परिचय पत्र अनिवार्य गरिएको छ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ र सोही दिन निर्वाचनको अन्तिम परिणाम घोषणा गरिनेछ। निर्वाचन समितिमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य रहेका छन्।

प्रकाशित मिति : २०८२ साउन १४ गते मङ्गलवार