
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित शेर्पाले आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारी दर्ता गराएका हुन्।
माउन्टेन टुरिजम युनिभर्सिटीको अवधारणा
शेर्पाले नेपालमै माउन्टेन टुरिजम युनिभर्सिटी स्थापना गर्ने आफ्नो प्रमुख एजेण्डा सार्वजनिक गरेका छन्। हाल नेपालमा पर्वतारोहणसम्बन्धी उच्च शिक्षाको अभाव रहेको उल्लेख गर्दै उनले भने, “नेपालमै माउन्टेन एड्भेन्चर युनिभर्सिटी खोल्न सके हजारौं नेपाली विद्यार्थीले विदेश जानुपर्ने बाध्यताबाट मुक्ति पाउँछन्।” उनले यस विश्वविद्यालयमार्फत विश्वभरका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।
आरोही कल्याणकारी कोष र अन्तर्राष्ट्रिय समन्वय
शेर्पाले सरकारद्वारा घोषणा गरिएको आरोही कल्याणकारी कोषलाई प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। उनले संघको माध्यमबाट सदस्यहरूको हकहित संरक्षण गर्दै अन्तर्राष्ट्रिय समन्वयमा आधारित परियोजनाहरू सञ्चालन गर्ने बताए। साथै, सगरमाथा लगायत उच्च हिमाल चढ्ने विश्व किर्तिमानी नेपाली आरोहीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष सुविधा दिने विषयमा सरकारसँग पहल गर्ने उनको योजना छ।
हिमाल संरक्षण र जलवायु परिवर्तनमाथि कडा धारणा
उनले हाल जलवायु परिवर्तनको नाममा शहरहरूमा हुने अनुत्पादक सेमिनार र गोष्ठीको आलोचना गर्दै वास्तविक संरक्षण कार्य हिमाली क्षेत्रमै हुनुपर्ने बताए। “हिमाल जोगाउनका लागि तिनै क्षेत्रका स्थानीय पर्वतारोहीहरूसँग समन्वय गरेर काम गर्नुपर्छ,” शेर्पाले भने। हिमताल फुट्ने र हिमपहिरोको जोखिम बढ्दै गएका घटनाप्रति गम्भीर ध्यान दिँदै उनले स्थानीयमा आधारित दीर्घकालीन समाधान ल्याउने अठोट व्यक्त गरे।
स्थानीय रेस्क्यू टिमको स्थायी संयन्त्र
नेपालमा उद्धार टिम समयमा नपुग्ने समस्या समाधान गर्न शेर्पाले हिमाली क्षेत्रमै तालिमप्राप्त स्थानीय रेस्क्यू टिम निर्माण गर्ने योजना सार्वजनिक गरे। उनले हरेक वर्ष पुनर्ताजगी तालिम दिने, उपकरणहरू स्थानीय तहमै उपलब्ध गराउने र आपतकालीन अवस्थाका लागि सम्पर्कको एकीकृत प्रणाली विकास गर्ने योजना अघि सारे।
शेर्पाको पृष्ठभूमि
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र पर्वतारोहण क्षेत्रमा क्रियाशील छन्। उनले ६ हजार मिटरभन्दा माथिको एक हिमाल आरोहण गरिसकेका छन्। सन् १९९९ देखि २००२ सम्म संघको कार्यसमिति सदस्य रहेर उनले काम गरेका थिए भने पछि विदेश विभाग प्रमुखका रूपमा पनि योगदान दिएका थिए। उनले संघले आयोजना गरेका रक्तदान कार्यक्रम र वाल क्लाइम्बिङ प्रतियोगिताहरूको संयोजनसमेत गरेका छन्।
“मेरो जीवनको अधिकांश समय पर्वतीय पर्यटनमै बितेको छ,” शेर्पाले भने, “अहिलेको उम्मेदवारी त्यो अनुभव र सीपलाई संस्थागत नेतृत्वमार्फत उपयोग गर्ने उद्देश्यले हो।”