
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू गर्न तयार रहेको बताएका छन् । आजै २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले यसलाई आफूले ठुलो कुरा नठानेको र पार्टीभित्र भइरहने एउटा प्रक्रियाको रूपमा लिएको समेत बताए ।
बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केही सांसदहरू आफूलाई असफल पार्न लागि परेको पनि उनले दाबी गरे । ‘बजेटको विषयलाई लिएर उहाँहरूले मलाई असफल भयो भन्नु भएको छ । उहाँहरूको आरोप सही छैन,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश सरकारले काम गरिहरेको अवस्थामा एक्कासि नेतृत्व भएन भनेर निहुँ खोज्ने काम राम्रो होइन । हामीले एक वर्षमा गरेको कामको परिणाम देखिने बेलामा उहाँहरूले नेतृत्व परिवर्तन गर्न खोज्नु उचित होइन । म त्यसको सामना गर्छु ।’
‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको अवस्थामा सहमति अनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वाभाविक रूपमा राजीनामा दिनुपर्थ्यो र दिन्थेँ,’ उनले शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग भने, ‘तर अहिले त्यस्तो अवस्था होइन । साथीहरूले दलको नेता फेर्न पर्यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको मैले पनि थाहा पाएँ । यसलाई मैले ठुलो कुरा मानेको छैन यो पार्टीभित्रको कुरा हो । म प्रस्ताव सामना गर्न तयार छु ।’