
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा शीर्ष तहमा सहमति नजुटेकोले अब मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्दैछ। समितिको बैठक आज आइतबार ११ बजेका लागि डाकिएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, स्वार्थ समूह र शिक्षकलाई बोक्नेहरूले विधेयक अड्काउन भूमिका खेलेका छन्। यसै कारणले, समितिले अब मिडिया काउन्सिल विधेयकमा छलफल अगाडि बढाउन लागेको हो।
समिति सदस्यको रुपमा केही दिन अघि समितिमा थपिएका कांग्रेसका सांसद श्याम घिमिरेले स्वार्थ समूहको भाषा बोलेपछि समिति बैठकमा लफडा भएको थियो । घिमिरेले जिजी क्षेत्रको प्रसंसा गर्दै आएका छन् । घिमिरे रन्किएर हिँडेपछि मन्त्री रघुजी पन्तले थप समय मागेका थिए । समितिले पाँच दिनको समय दिएको थियो। गत असार २२ गते समिति सभापति थापाले यो समय दिए पनि हाल (२०८२ साउन ४ गते)सम्म मन्त्री समितिमा शिक्षा विधेयकमाथि छलफल गरी अन्तिम रुप दिन पक्षमा देखिएका छैनन्।
समितिले छलफल थालेको मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको हो र यसको उद्देश्य स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि मिडिया काउन्सिलको स्थापना गर्नु हो। यसले प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गरी समसामयिक पत्रकारितालाई नियमन गर्ने लक्ष्य राखेको छ।