शिक्षक महासंघ अवैध रहेको दाबी सहित संसदीय समितिमा उजुरी



काठमाडौं । नेपाल शिक्षक महासंघ अवैध रहेको दाबी सहित संसदीय समितिमा उजुरी परेको छ । शिक्षक नारायणप्रसाद घिमिरे र विद्यालय सहयोगी शङ्करबहादुर कुमालले नेपाल शिक्षक महासंघ अवैध रहेको दाबी सहित प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दर्ता गराएका हुन् ।

गत बिहीबार समितिमा दर्ता गरिएको उजुरीमा महासंघ अवैध रूपमा सञ्चालन भइरहेको र गैरकानुनी रूपमा रकम असुली गरिरहेको दाबी गरिएको छ । उजुरीमा महासंघका सम्पूर्ण गतिविधिमा रोक लगाई आवश्यक अनुसन्धान गरी कानून बमोजिम कारवाहीको माग समेत गरिएको छ ।

शिक्षा ऐन २०२८ को आठौं संशोधनले साविकको नेपाल शिक्षक युनियनलाई नेपाल शिक्षक महासंघमा शाब्दिक पदावली रुपान्तरण मात्र गरेको दावी उजुरीमा गरिएको छ । शिक्षा ऐनको दफा १६ ‘ङ’ ले सामुदायिक विद्यालयका शिक्षकको हकहितमा काम गर्नका लागि एउटै शिक्षक महासङ्घ रहने व्यवस्था गरेको स्मरण गराउँदै उजुरीमा हालको महासंघले छुट्टै दर्ता नम्बर राखि सञ्चालन गरिरहेको उल्लेख छ । जसलाई कानुनी रूपमा अवैध किटानी गरिएको छ ।

उजुरी भनिएको छ ‘नेपाल शिक्षक महासंघले नेपाल शिक्षक युनियनको दर्ता नं। ०२/२०६० राखी सञ्चालनमा रहेको भनेकोमा नेपाल शिक्षक महासंघको दर्ता नं। प्रमाणित गरी पाउँ भनी म निवेदक शंकर बहादुर कुमालले त्यस कार्यालयमा निवेदन दिएकोमा त्यस कार्यालयले नेपाल शिक्षक महासंघ दर्ता नं. ०२/२०६० कार्यालयको कम्प्युटर अभिलेख अनुसार नदेखिएको भनी मिति २०७८/०७/२९ च नं. ३३५ को पत्रबाट म निवेदकलाई जानकारी दिएको छ’

‘यसर्थ दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको तथा उठाउने गरेको लगायतका गतिविधि भइ रहकोले तत्काल रोकी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम गरियोस भनि विनम्र अनुरोधका साथ यो निवेदन पेश गरेको छु ।’ उजुरीमा दाबी गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार