
नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
डा. पौडेलले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा भएको सम्पति विवरण सार्वजनिक गरेका हुन् । डा. पौडेलले ललितपुर र नवलपरासीको गैडाकोटमा घर भएको उल्लेख गरेका छन् । दुवै घर उनको श्रीमतीको नाममा छ। त्यस्तै उनले ललितपुरम आ १ करोड ५५ लाख र गैडाकोटमा ६० लाखमा जग्गा खरिद गरेको उल्लेख गरेका छन् । यी दुवै जग्गा पनि उनको श्रीमतीको नाममा छ। गभर्नर पौडेलले ४५ तोला सुन र १५ लाखको हिरा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
गभर्नर पौडेलले शेयरमा पनि लगानी गरेका छन् । गभर्नर पौडेलको सानिमा बैंकमा २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक शेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत भएको ९२ हजार ५७९ कित्ता शेयर, र सानिमा मिडिल तमोर हाइड्रोमा १ लाख ८८ हजार कित्ता संस्थापक शेयर रहेको छ।
त्यस्तै उनको ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८ सय ३४ कित्ता शेयर, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता शेयर, चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता शेयर रहेको छ। त्यस्तै उनको श्रीमतीको नाममा ग्लोबेको प्रालिको ७५ हजार कित्ता शेयर रहेको छ। उनको श्रीमतीको नाममा ४४ लाखमा खरिद गरिएको सुजुकी कार पनि रहेको छ।
गभर्नर पौडेलले विभिन्न बैंकमा बचत रहेको पनि उल्लेख गरेका छन् । जसमा सानिमा बैंकमा १३ लाख २३ हजार, इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार, र सानिमा बैंकमा ६६ डलर नगद रहेको छ। उनको श्रीमतीको नाममा सानिमा बैंकमा १२ हजार रुपैयाँ, प्रभु बैंकमा ४ लाख ७३ हजार रुपैयाँ र सानिमा बैंकमा ४४ सय ४६ डलर रहेको छ।