
काठमाडौं । राइड हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै चालक साझेदारलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने उद्देश्यसहित ललितपुरस्थित कुपण्डोलमा शुक्रबार नेपाल कार्यालय स्थापना गरेको हो ।
नयाँ कार्यालय चालक समुदायलाई सशक्त बनाउने र सेवा गुणस्तर सुधार गर्ने केन्द्रका रूपमा कार्यालय सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यालयमार्फत् व्यक्तिगत रूपमा चालक सपोर्ट र तालिम, सुरक्षा केन्द्रित कार्यक्रम, स्थानीय बजार अनुकूल सेवा सञ्चालन र समुदायसँगको सम्बन्ध विस्तारका लागि पहल गरिनेछ ।
सो अवसरमा इनड्राइभमा एपिएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भन्नुभयो, ‘हामी हाम्रा चालक साझेदार र काठमाडौंं उपत्यकामा यहाँका समुदायका लागि हाम्रा ढोका खोल्न पाउँदा उत्साहित छौं, यो कार्यालय केवल कार्यस्थानमात्र नभई चालकलाई सफल बनाउन र इनड्राइभसँग जोडिन सघाउने सपोर्ट सेन्टर पनि हो ।’ इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले भन्नुभयो, ‘स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो । ललितपुरमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो ।’ पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिण्डिकेट हुनु नहुने बताउनुभयो । प्रतिस्पर्धाको युग भएकाले प्रविधि प्रयोग गर्दै राइड सेयरिङ सेवाहरू सहज रूपमा प्रयोग गर्न पाउनु सबैको हक भएको उहाँको भनाइ थियो । सांसदसमेत रहनुभएका ज्वालाले भन्नुभयो, ‘सार्वजनिक यातायात र राइड सेयरिङ दुवैलाई व्यवस्थित गर्न संघीय सरकारले छिटोभन्दा छिटो आवश्यक कानुन ल्याउनुपर्छ । राइड सेयरिङ रोक्ने होइन, यसले सहयोग गरिरहेकाले प्रोत्साहन गर्नुपर्छ ।’