
काठमाडौं, जेठ ७ । नेपाली संगीत क्षेत्रमा एक नयाँ मन छुने गीत “उडि जाने त्यो रानी चरी” हालै सार्वजनिक भएको छ। गीतमा राजेश ढकाल, प्रतिमा अर्याल र रामकुमार महतको स्वर सुन्न सकिन्छ।
गीतलाई प्रतिमा अर्यालले लेखेकी हुन् भने संगीत राजेश ढकालले भरेका छन्। गीतको सङ्गीत संयोजन नारायण डंगोलले गरेका हुन् भने मिक्सिङ कुमार सानु पुनले गरेका छन्। यो गीत शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतले प्रेम, स्वतन्त्रता र कल्पनाको भाव प्रस्तुत गर्छ। “रानी चरी” को रूपकले स्वतन्त्रताको लालसा र बिछोडको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। भिडियो पक्षमा, गीतलाई झनै आकर्षक बनाइएको छ। अभिनयमा सञ्जीव ठकुरी, प्रदीप रोका, प्रतिमा अर्याल, बिमला थामी र राज लामाको उपस्थिति रहेको छ।
भिडियोलाई सञ्जीव ठकुरीले निर्देशन र नृत्य निर्देशन गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिनाले गरेका छन्। विश्नु खड्काले सम्पादन तथा थम्बनेल डिजाइन गरेका छन्। पोस्ट-प्रोडक्सन सफल मोसन पिक्चर्सले सम्हालेको हो।
गीतको सम्पूर्ण निर्माण ठकुरी फिल्म्सद्वारा गरिएको हो। भिडियो युट्युबमा सार्वजनिक भइसकेको छ र छोटो समयमा नै दर्शकहरूको राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।