
काठमाडौं। विवादित र ‘अराजक’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानमा तानिएका छन्। नेपाल राष्ट्र बैंकको अनुरोधमा सिआईबीले अर्बौं रुपैयाँ ऋण दुरुपयोग गरेको अभियोगमा उनीमाथि अनुसन्धान सुरु गरेको हो।
अघिल्लो वर्षदेखि ‘बैंकको ऋण मिनाह’ आन्दोलन चलाइरहेका प्रसाईं पछिल्लो समय राजसंस्था पुर्स्थापन जागरण अभियानमा छन्। पछिल्लो समय काठमाडौं तिनकुनेमा भएको राजावादी आन्दोलनको ‘जनकमाण्डर’ तोकिएको प्रसाईंलाई गत साता प्रहरीले पक्राउ गरिसकेको छ।
प्रसाईंको कुन बैंकबाट कति ऋण?
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।
यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा-ब्याज चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रसाईंले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्न हुन सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ। ऋण दिएका बैंकका अनुसार प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज चालु वर्षको तेस्रो त्रैमासमा पनि भुक्तानी पाएका छैनन्।