
काठमाडौं । काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं भारत पुगेको बताए ।
यही चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएकाे प्रहरीको भनाइ छ ।
प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरी दाबी छ । ‘‘प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।’’ उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरीले जनाएको छ ।