ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडकाे कम्पनीले तिरेन कर, राजस्व कार्यालयले निकाल्यो सूचना



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा नेकपा एमालेका नेता मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

विराटनगरका उद्योगी दुगड पूर्वसांसद पनि हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।

दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार