काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई बोल्न अवरोध गर्ने प्रयास गरिएको बताएका छन्।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान को उद्घाटन समारोहमा आफूले मन्तव्य दिन खोज्दा अवरोध गरिएको र त्यसले आफूलाई असहज महसुस गराएको बताए।
श्रेष्ठका अनुसार, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आफूले बोल्न सुरु गर्दा मनोवैज्ञानिक अवरोध सिर्जना गर्ने प्रयास भएको थियो, जसका कारण उनले आफ्नो सम्बोधनलाई निरन्तरता नदिएको स्पष्ट पारे।
माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानको दोस्रो दिनको कार्यक्रम आज मोरङ जिल्लामा जारी छ । अहिले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा भइरहेको छ ।
आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरु सहभागी छन्। तर, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने सभा छाेडेर चितवन पुगेका छन् । उनी हिजाेकाे सभामा बोल्दा बोल्दै कार्यक्रम छोडेर हिँडेका थिए ।





