जेलेन्स्की तानशाह र सफल कमेडियन : ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानशाह भनेका छन्। जेलेन्स्कीले युद्धबारे रूसले फैलाएको भ्रममा ट्रम्प पनि परेको भनेर अभिव्यक्ति दिएपछि ट्रम्पले जेलेन्स्कीलाई तानशाह भनेका हुन्।

‘चुनावबिनाको तानाशाह जेलेन्स्कीले छिटो कदम चाल्नु राम्रो हुन्छ नत्र उनीसँग देश बाँकी रहने छैन,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ मा समाप्त हुन्थ्यो। तर तीन वर्षदेखि रूससँग युद्धमा रहेका कारण युक्रेनमा चुनाव हुन सकेको छैन।

ट्रम्पले भने देशभित्र लोकप्रियता घटेका कारण जेलेन्स्कीले चुनाव गराउन नचाहेको बताएका थिए। उनले जेलेन्स्कीको लोकप्रियता चार प्रतिशत मात्रै भएको बताएका थिए।

यद्यपि किभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीको सर्वेक्षणले भने युक्रेनमा जेलेन्स्कीको लोकप्रियता ५७ प्रतिशत रहेको देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पको उक्त अभिव्यक्तिको युरोपेली राष्ट्रप्रमुखहरू र अमेरिकी डेमोक्र्याटहरूले आलोचना गरेका छन्। ट्रम्पले रूसविरूद्ध कहिल्यै जित्न नसक्ने युद्ध लडेको र त्यसका लागि खर्च गर्ने भनेर अमेरिकासँग ३५० अर्ब डलर मागेको भनेर जेलेन्स्कीलाई सफल कमेडियनको संज्ञा दिएका छन्।

रूसविरूद्धको युद्धमा अमेरिकाले युरोपेलीहरूले भन्दा २०० अर्ब डलर बढी खर्च गरेको दाबी गरे। ‘तर युरोपेली मुलुकहरूले उनीहरूले गरेको खर्चको भरपाई पाउँछन् अमेरिकाले केही पाउँदैन,’ ट्रम्पले भने।

यसमा उनले अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको पनि आलोचना गरेका छन्। ‘युरोप र बाइडेन युक्रेनमा शान्ति ल्याउन असफल भए। जेलेन्स्की सम्भवत: चिहानयुक्त रेल चलाइरहन चाहन्छन्,’ ट्रम्पले भने, ‘ मलाई युक्रेन मन पर्छ तर जेलेन्स्कीले भयानक काम गर्दा त्यो देश चकनाचुर भएको छ। लाखौं अनाहकमा मरेका छन्।’

ट्रम्पले यसअघि युक्रेनलाई रूसविरूद्धको लडाईंमा अमेरिकाले गर्दै आएको सहायता र आगामी दिनहरूमा पनि सहयोग गर्नका लागि त्यहाँ रहेको आधा खनिज दिनुपर्ने प्रस्ताव राखेका थिए। त्यसलाई जेलेन्स्कीले ठाडै अस्वीकार गरिदिएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार