
विराटनगर । पूर्व राष्ट्रपति तथा नेकपा एमालेको पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी कोशी प्रदेशको राजधानी विराटनगरमा एक हप्ता जमेर बसिन् । त्यस क्रममा उनले नेकपा एमालेका नेता कार्यकर्तासँग बाक्लै भेटघाट गरिन् भने सामाकिज कार्यक्रममा पनि सहभागि भईन् । यसअघि पनि उनी एमालेको रक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेकै थियो । उनको यसपाली विराटनगर बसाई, भेटघाट र भएका अनौपचारिक छलफलले सक्रिय राजनीतिमा फर्कने कुरालाई थप पुष्टि गरेको भेटेर फर्कनेहरु बताउँछन् ।
यसबीचमा उनले ८ वटा औपचारिक कार्यक्रममा सहभागी भइन् । जहाँ औपचारिक कार्यक्रम गरिन् त्यहाँ पनि समूहगत, व्यक्तिगत ढंगले अनौपचारिक भेटघाटहरु मनग्ये गरिन् । मुख्य गरी विराटनगरको होटल बिगमा बसेर उनले सयौं एमालेका नेता तथा कार्यकर्ताहरुसँग भेट गरिन् । शनिबार मात्रै उनले तीन दर्जनबढी समूहका एक सयभन्दा बढी नेता, कार्यकर्तासँग भेट गरेको निकटस्थ स्रोत बताउँछ । भेटघाट गर्नेहरुमा अधिकांश एमालेका नेता कार्यकर्ता छन् भने कतिपय काँग्रेस र नेकपा एसका नेता, कार्यकर्ताले पनि भेट गरेका छन् । १४ गते विराटनगर आइपुगेकी उनले त्यही दिन महिला कार्यकर्तासँग भेटघाट गरिन्, त्यसपछि पत्रकार सम्मेलनमा सहभागी भएर उनले विद्यार्थीसँग पनि छलफल गरिन् र नेता, कार्यकर्तासँग भेटघाट गरिन् । १५ गते इटहरीको जनता माविको औपचारिक कार्यक्रममा समावेश भएकी उनले त्यहीँ रहँदा सुनसरीका एमाले नेता, कार्यकर्तासँग छलफल भयो । १६ गते भण्डारी मोरङ बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रम र एक निजी स्कुलको औपचारिक कार्यक्रममा सहभागी भइन् ।
१७ गते उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएकी उनी १८ गते मोरङको ग्रामथानमा रहेको एक विद्यालय र धरानको इन्जिनियरिङ क्याम्पसको कार्यक्रममा सहभागी भइन् । १९ गते सुनसरीको इटहरीमा रहेको एनटिभी इटहरी च्यानलको कार्यक्रममा सहभागी भएकी उनले सोही दिन विराटनगरमा संचालित विराट एक्स्पोको अवलोकन गरिन् । औपचारिक कार्यक्रमबाहेक उनले प्राध्यापक, बुद्धिजीवि, मदन भण्डारी फाउण्डेसनको टिम, काँग्रेस नेता ज्ञानेन्द्र कार्की, भीम पराजुलीसम्मले नै भेटघाट गरे । मोरङ एमालेका प्रायः नेता, कार्यकर्ताले भण्डारीलाई भेटेको स्रोत बताउँछ । शनिबार दिउँसो सभामुख देवराज घिमिरेले पनि भण्डारीलाई होटलमै भेटेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेताहरुले पनि भेटघाटको समय मागिरहेका छन् । भण्डारीले प्रत्येक दिन भएका कार्यक्रम र भेटघाटको विषयमा आधा घण्टा समीक्षा गर्ने गरेको बताइएको छ । ‘अब ओलीबाट काम चल्दैन’ भण्डारीसँग भेटघाटमा गएका एमालेका नेता कार्यकर्ताहरुले गुम्सिएर बसेको कुरा गर्ने गरेको स्रोत बताउँछ । ‘कहाँ भनौं, कसलाई पीडा कहाँ पोखौं भन्ने भएकाहरुले भण्डारीसँग आएर पर्याप्त गुनासो पोखेका छन्,’ उनी निकट स्रोत भन्छ, ‘सबैको गुनासो नै गुनासो छ । म साइड लागें, मलाई साइड लगाइयो । हजुर संरक्षण बनिदिनु पर्यो भन्ने मात्रै आएका छन् ।’ ‘केपी ओलीको बोली पनि ठिक छैन । हाम्रो अबको लिडर को हो भन्ने छ । केपी पछि म हुने भन्ने शंकर पोखरेल र विष्णु पौडेलको देखिन्छ । त्यसो हुँदा बिना प्रतिस्पर्धा बेगर म आफैं हुन्छ भन्ने राष्ट्रपतिज्यूलाई लागेको हुनसक्छ,’ भेटमा सहभागी एक नेताले भने, ‘एमाले नेतृत्वको स्वभावजन्य कुराले पार्टीमा पनि गज्याङ गुजुङ भयो । माओवादी, नेकपा एसलगायतका विभिन्न टिमले पनि उहाँलाई गार्जेनशिप लिइदिनु पर्यो भन्ने कुरा आएको बुझेको छु । अहिले माधव नेपाल, प्रचण्डहरुले पनि पार्टी विभाजन गरेर गल्ती गरेको भन्ने फिल गरेका र प्याच्च बोलेर बिगार्ने ओलीको स्वभाव नै भेटघाटको चर्चा छ ।’
अहिलेसम्म भण्डारीले चुनाव लडेरै आफू एमाले अध्यक्ष बन्ने मनस्थितिमा नरहेको उक्त स्रोत दाबी गर्छ । एमालेभित्रको एकता, नेकपा एस र माओवादीसम्मको एकताको कुरा उनले गर्ने गरेकी छिन् । ‘सिधै राजनीतिमा आउने जस्तो चाहिँ देखिँदैन । भण्डारीले पार्टी धेरै बिग्रियो भन्ने चिन्ता पनि व्यक्त गर्ने गरेकी छिन् । उनले बोलेकै भरमा भीम रावल, विन्दा पाण्डेलगायतलाई कारबाही गरेर पार्टीलाई कमजोर बनाएको भाव व्यक्त गर्ने गरेको स्रोत दाबी गर्छ । सुनसरीको इटहरीमा भण्डारीसँग भेट गरेकी एमाले नेतृ मौसमी राईले भने आफूसँग शिक्षा सुधारको कुरा गरेको बताइन् । ‘राजनीतिक रुपमा कार्यकर्ताहरू चुनावदेखि चुनावसम्म र संगठनदेखि संगठनसम्म मात्रै लागेको देखिन्छ । समाजका विकृति, विसंगतीका विषयमा चासो दिनुपर्नेतिर राजनीतिक दलहरु लागेका छैनन् । नेता भनेको चुनावदेखि चुनावसम्म मात्रै होइन । हाम्रो दायित्व समाज परिवर्तनको दायित्व हो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘पार्टीका विभागहरु स्वास्थ्य, शिक्षा जस्ता विभाग भएपनि विसंगतिको कुरा नउठेको र संगठन निर्माणमा मात्रै जोड दिएको भन्ने खालको कुरा गर्नुभयो । उहाँले व्यवहारिक पाटोलाई बढी जोड दिनुभयो । मलाई त राम्रो लाग्यो ।’
घटनाक्रमहरु र उनको सक्रियता हेर्दा भण्डारी सक्रिय राजनीतिमा आउने आधारहरु प्रष्ट हुँदै गएको छ । पहिलो आधार पार्टीको संगठित सदस्यता नवीकरण गर्नु हो । दोस्रो आधार पटकपटक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नु र तेस्रो आधार सातवटै प्रदेशको भ्रमण गर्ने कार्यतालिका बनाउनु हो । ओलीसँगको भेटपछि भण्डारी उनीसँगको सल्लाहमै देशदौडाहा निस्किएको हुनसक्ने कतिपय विश्लेषण गर्छन् । ‘प्रधानमन्त्रीसँगको भेटघाटले दुईवटा कुरा बुझ्नु पर्छ । एउटा केपी ओलीलाई अबको पार्टी अध्यक्ष विद्या भण्डारी हो भन्ने माहोल पनि बनाउँछ । अर्को ओलीले तपाई होइन भन्ने हो भने म प्रतिस्पर्धा गर्छु भन्ने माहोल पनि बनाएको छ,’ भण्डारी निकट स्रोत भन्छ, ‘उहाँको कन्फिडेन्स हेर्दा राजनीतिमा आउने नै देखिन्छ । विस्तारै माहोल बन्दै गएको छ । अहिलेको अभियान पनि त्यही हो ।’