एमालेको जागरण सभाका ‘कमाण्डर’ भट्टराई कम्बोडिया उडे, भन्छन्ः कम्बोडिया जाने टोलीमा १३ जना छौँ



काठमाडौँ । निराशा चिर्ने र उत्साह जगाउने भन्दै नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई कम्बोडिया उडेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले आफू कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुराको जानकारी दिएका हुन् ।

उनले सो कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको समेत बताएका छन् । उनले भनेका छन् : ‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस् । कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन् । थप केही भन्नुपर्छ ?’

अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने कागजातसहितको भिडियो सार्वजनिक गरेपछि कम्बोडिया जान लागेका नेता भट्टराईका बारेमा समेत सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार