एमाले ललितपुरमा पुरुषोत्तमको दोस्रो इनिङ



ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषाेत्तम आचार्य निर्वाचित हुनुभएको छ ।

जिल्ला नेतृत्व चयनका साेमबार लागि भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएकाे प्रमुख निर्वाचन आयुक्त पुरुषाेत्तम ढुंगानाले जानकारी गराउनुभयाे। निर्वाचन आयुक्त ढुंगानाका अनुसार अध्यक्षका प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको ९औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका बिषयमा सहमति नभएपछि आज साेमबार निर्वाचन भएको हाे ।

त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत र उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धात्मक हरिगाेविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गर्नुभयो । सचिवमा राम राउतले एक सय ७९ मत ल्याएर विजयी हुँदा उहाँ प्रत्यासी रत्न महर्जनले एक सय १२ मत प्राप्त गर्नुभयो ।

उपसचिव खुलामा प्रभाकर थापाले एक सय ५४ मत प्राप्त निर्वाचित हुँदा उहाँका प्रत्यासी श्याम बजगाईले ९९ मत पाउनु भएको निर्वाचन आयुक्त ढुंगानाले जानकारी दिनुभयो।
उप-सचिव महिलामा आशा राईले एक सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी संगीता अच्छामीले एक सय ४० मत प्राप्त गर्नुभयो ।

निर्वाचनमा कुल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार