वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता हुँदैछ। रिक्त रहेका प्रतिनिधि सभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय दिएको छ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित नजान भनेको छ। साथै २५ जनाभन्दा धेरै नजान पनि आयोगको आग्रह छ। सत्ता गठबन्धनले तीनै क्षेत्रमा साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। माओवादीलगायत सत्ता गठबन्धनमा रहेका अधिकांश दलले यी उम्मेदवारलाई नै सहयोग गर्ने तयारी गरेका छन्। माओवादीले चितवन र बारामा सत्ता गठबन्धनलाई सहयोग गर्ने र तनहुँ १ मा आफैँ उम्मेदवारी दिन छलफल गर्ने तयारीसमेत गरेको छ।
नेकपा एमालेले भने तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने भएको छ।
यस्तै सत्ता गठबन्धनबाट बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। यहाँ उम्मेदवारी दिने बताएका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि जसपा अध्यक्ष यादवलाई नै समर्थन गर्ने बताएका छन्।
बारा २ मा नेकपा एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन। यहाँ एमाले नेता पुरूषोत्तम पौडेललगायत आकांक्षी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।
यस्तै जनमत पार्टीले बारा २ मा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ। शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ १ मा शोभा गुरूङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अरू दलहरू तथा स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।





