बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै



आज बुधवार विश्वासको मत लिँदै गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग नेपाली कांग्रेसको विवाद बढ्दै गएको छ । विश्वासको मत लिन सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग कुनै औपचारिक छलफल नगरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको हो । नेकपा माओवादी केन्द्र र कांग्रेसबीचको विवाद गठबन्धनका शीर्ष नेतृत्वसम्म पुगिसकेको छ ।

सोमबार र मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताहरूले विश्वासको मत र सरकारमा सहभागी हुने विषय लिएर छलफल गरेका छन् । देउवासँग मंगलबार छलफल गरेपछि कांग्रेसका सांसदहरू काठमाडौंमै रोकिएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आज बुधवार विश्वासको मत लिने तय यसअघि नै भए पनि कांग्रेसका सांसदहरू मंगलबार साँझसम्म हेटौँडा नआएका हुन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक ११ बजे काठमाडौंस्थित चप्पलकारखानामा राखिएको छ । हेटौँडास्थित प्रदेशसभामा ३ बजे विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ । संसदीय दलको बैठक सकेर सांसदहरू ३ बजे विश्वासको मत दिन हेटौँडा पुग्ने सम्भावना कमै छ । जसकारण बुधबार नै जम्मकट्टेलले विश्वासको मत पाउनेमा शंका छ ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार