विश्वकप छनोटमा पुगेपछि कप्तान रोहित पौडेलले दिए यस्तो प्रतिक्रिया



आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरूद्ध नेपालले ८ डिएल मेथडबाट ९ रनको जित निकाल्यो।

३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको थियो। तर पनि नेपालका चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले खेल जित्यो।

खेलपछि पत्रकारसँग कुरा गर्दै नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले जित निकाल्ने विश्वास नगुमेको बताए।

उनले भने, ‘लगातार विकेट गुमेपनि हामीले खेल जित्छौं भन्ने विश्वास थियो। विकेट राम्रो थियो। मैदान पनि सानो भएकाले लक्ष्य पार गर्ने विश्वास थियो।’

उनले पछिल्ला १२ खेल मध्ये ११ खेलमा जित हात पारेको श्रेय प्रशिक्षक मन्टी देसाईलाई दिन चाहेको बताए।

देसाई नियुक्त भएपछि नेपालले लिग २ का पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पार्‍यो। जसका कारण नेपाल लिग २ को तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुग्यो।

‘मन्टी सर आएपछि हाम्रो टिमको माहोल परिवर्तन भएको छ। सबैजना सकारात्मक छन्। यो पछिल्लो जितको श्रेय मन्टी सरलाई दिन चाहान्छु,’ उनले भने,‘मन्टी सरले प्रत्येक खेलमा केन्द्रीत हुन र प्रत्येक दिन एक खेल र मैदानमा उत्रिएपछि एक बलमा केन्द्रीत हुन सिकाउनुभयो।’

युएईविरूद्धको खेल ४४ ओभरमा सकिएको थियो। अँध्यारो भएपछि रेफ्रीले खेल रोकेका थिए।

युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। यता नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको हो।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार