सुवास नेम्वाङले कसरी ल्याए एमालेका सांसद संख्याभन्दा बढी मतभार?



नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले आफ्नो पार्टीको सांसद संख्याभन्दा बढी मत प्राप्त गरेका छन्। नेकपा एमालेको संघीय संसदमा ९५ सांसद छन्। तर राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई ९८ सांसदले मत दिएका छन्।

एमाले नेताहरूका अनुसार नेम्वाङलाई मत दिने थप तीन जनामध्ये एक राष्ट्रपतिद्वारा मनोनीत सांसद विमला राई पौड्याल हुन्। उनी एमाले पृष्ठभूमिकै नेता हुन्।

त्यस्तै, एमाले नेताहरूका अनुसार अर्का सांसद वामदेव गौतम हुन्। उनी पनि एमाले पृष्ठभूमिकै नेता हुन्। तर पछिल्लो समय उनी एमालेमा छैनन्। त्यसैगरी एमालेबाटै बागी उठेका सांसद योगेन्द्र मण्डलले नेम्वाङलाई मत दिएको एमाले नेताहरूको आकलन छ।

राष्ट्रपतिको निर्वाचनको मतदान भने गोप्य हुन्छ। प्रदेश सभामा नेकपा एमाले १६२ सांसद छन्। प्रदेशतर्फ भने उनलाई १६२ सांसदले नै मत दिएका छन्।

नेम्वाङले राष्ट्रपति निर्वाचनमा १५ हजार ५ सय १८ मतभार ल्याएका हुन्। तर उनी राष्ट्रपति निर्वाचनमा पराजित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। उनले पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएका छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार